नैतिक दृष्टान्त

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigationJump to search

यस नैतिक दृष्टान्त (१९७४) कविका रचनाकार कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१ - २०२२, सन् 1885 – 1966) हुन् । उनी नेपाली साहित्यका परिष्कारवादी धारका छन्दोबद्ध कवि थिए । उनलाई नेपाली साहित्यमा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा पनि चिनिन्छ ।

यस कवितामा कवि लेखनाथ पौड्यालले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् ।

मूलपाठ. नैतिक दृष्टान्त

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।

ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजनादिक ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ।।

सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।

जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।

हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।

योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।

धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।

सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?

सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।

मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।


सारांश[सम्पादन गर्ने]

  1. ठूलाले गरेका कार्यलाई सबैले मान्दछन्, जसरी भगवान् शिवको नाङ्गो र मगन्ते भेष कहीँ निन्दा गरिएको छैन ।
  2. ठूला व्यक्तिहरूले आफ्नो मर्यादा नाघ्न हुँदैन, जसरी ठूलाठूला नदी/समुद्रहरू आफ्ना सीमामै बसेका हुन्छन् ।
  3. गुणी मानिसको थोरै दोष भए पनि दबिन्छ, जसरी चन्द्रमा तेजले उसको दाग छोप्दछ ।
  4. संसारमा कसैको एकैनास उन्नति हुँदैन, अर्थात् उतार-चढाव हुन्छ नै । नत्र साँझमा सूर्यको गति हेर्दा हुन्छ ।
  5. सानो मानिस एकैचोटि बढ्दा फूर्ति बढाउँछ, जसरी उर्लँदो खहरे बेस्सरी गड्गडाउँछ ।
  6. सोझो हुनुभन्दा केही हदसम्म टेढिनु राम्रो हुन्छ । ग्रह सोझो भए कसैले पनि पूजा गर्दैनथे ।
  7. मूर्खमध्ये जस्तोसुकै मूर्ख पनि प्रतिष्ठित हुन्छ । अँध्यारोमा जुनकिरीसँग बोल्न को महात्मा आउँछ ?
  8. दुष्ट मतिका मानिस सानैदेखि छुच्चो हुन्छ, जसरी घोच्ने जङ्गली काँडाहरू पहिले कति तीखा हुन्छन् ।
  9. सँगै मिलेर एकजुट हुनु फाइदाजनक छ, जसरी मौरीले मह पार्दा एकजुट हुन्छ ।
  10. जो काम गर्दैन, उसैले बढी हल्ला गर्छ । त्यसैले त नवर्षिने मेघले नै सधैँ घर्घर गर्छ ।
  11. मौका पर्दा शत्रुको पनि सेवा गर्नुपर्छ, जसरी कोइली सानोमा कागकै बच्चाझैँ हुर्कन्छ ।
  12. गुण नमान्ने ठाउँमा गुणीले के गर्न सक्ला । भिल्लहरूका देशमा मणिजस्तो बहुमूल्य चीज कौडीमा समेत मिल्काइन्छ ।
  13. उचित स्थानमा बस्दा सानाले पनि मान पाउँछ, जसरी कालीगण्डकी नदीका तीरको ढुङ्गा पनि शालिग्राम देवताका रूपमा पुजिन्छ ।
  14. गुणी व्यक्ति सधैँ निहुरिन्छ अर्थात् आफूलाई ठूलो ठान्दैन, जसरी फलसहितको हाँगो झुकेकै हुन्छ ।
  15. आफ्नो भाग्यमा लेखिएको कुरा कसैले मेटाएर मेट्दैन, त्यसैले त चतुर्दश भुवनका स्वामी श्रीराम वनवासमा जानुभयो ।
  16. दुःख पर्दा धैर्य राख्नु धर्म हो, जसरी जाडोयाममा कोइली गाएको सुनिँदैन अर्थात् मौनव्रतमा बसेझैँ हुन्छ ।
  17. गुणीले सार वा भाव मात्र लिन्छ र वस्तुको मोह गर्दैन, किनकि भमराले रस चुसेपछि फूलमै वास बस्दैन ।
  18. दुष्ट मानिस असलका संगतमा रहँदा पनि दुष्ट नै हुन्छ, जसरी श्रीखण्डमा बसे पनि सर्पको विष यथावत् नै हुन्छ ।
  19. मूर्खलाई केही अर्ती दिँदा गाली गरेझैँ लाग्छ । त्यस्तै, दूध खाए पनि सर्प मात्र आफ्नो विष बढाउँछ ।

Comments

Post a Comment